दफा
ठेगानावालाले तिर्नुपर्ने हुलाक महसुल
: (१) हुलाक महसुल वा दस्तुर अगावै भुक्तानी नभएको वा नपुग भुक्तानी भएको हुलाक वस्तुको लाग्ने हुलाक महसुल वा अरु दस्तुर सो हुलाक वस्तुको डेलिभरी लिने ठेगानावालाले तिर्नु पर्छ । त्यस्तो हुलाक वस्तु नखोली फिर्ता गरेमा भने ठेगानावालाले तिर्नु पर्ने छैन ।
तर ठेगानावालालाई दुःख दिने खास बदनियतले कुनै हुलाक वस्तुमा लाग्ने हुलाक महसुल वा अरु दस्तुर अगावै भुक्तानी नगरी वा नपुग भुक्तानी गरी पठाएको हो भन्ने नियन्त्रकलाई लागेमा निजले उक्त महसुल वा दस्तुर मिनाहा गर्न सक्नेछ ।
(२) ठेगानावालाले उक्त महसुल वा दस्तुर तिर्न इन्कार गरेमा वा हुलाकवस्तु नखोली फिर्ता गरेमा वा निजको मृत्यु भएमा वा निज फेला नपरेमा उक्त महसुल वा दस्तुर हुलाक वस्तु पठाउने व्यक्तिले तिर्नु पर्नेछ ।